हाम्रा सेवाहरू

हाम्रो सेवा फोहोर सङ्कलनमा मात्र सीमित छैन। हाम्रा सबै काम जिम्मेवार फोहोर व्यवस्थापन तथा त्यसबाट प्रभावित व्यक्ति र स्थानमा केन्द्रित छन्।

सङ्कलन तथा सरसफाइ

घरदैलोबाट सङ्कलन, फोहोर छुट्याउने, सडक सफाइ तथा सुरक्षित विसर्जन।

फोहोर सङ्कलन तथा ढुवानी

साना सवारी साधनमार्फत घरदैलोबाटै फोहोर सङ्कलन गरी ट्रान्सफर स्टेसनमा पुर्‍याइन्छ। बिक्रीयोग्य वस्तु छुट्याएपछि बाँकी फोहोर ठूला सवारी साधनमा लोड गरी नुवाकोटको बन्चरेडाँडा ल्यान्डफिल साइटमा पुर्‍याइन्छ।

फोहोर छुट्याउने काम

घरधुरीलाई फोहोर कुहिने र नकुहिने गरी दुई भागमा छुट्याएर राख्न सिकाइन्छ र फरक-फरक दिनमा सङ्कलन गरिन्छ। यसलाई सबै क्षेत्रमा पुर्‍याउन अभियान सञ्चालन भइरहेको छ। ट्रान्सफर स्टेसनमा बिक्रीयोग्य वस्तु पनि छुट्याइन्छ।

सडक किनारमा डस्टबिन

स्थानीय सरकारसँगको समन्वय र सहकार्यमा विभिन्न बस्तीका सडक किनारका पोलमा साना डस्टबिन जडान गरिएका छन्, जसले गर्दा पैदलयात्रीलाई हातमा रहेको सानो फोहोर फाल्न सजिलो भएको छ।

नियमित सडक सफाइ

कार्यक्षेत्रभित्रका सडक आवश्यकताअनुसार नियमित रूपमा बढार्न कर्मचारी खटाइएका छन्।

मृत पशु व्यवस्थापन

कार्यक्षेत्रभित्र फेला परेका मृत पशुको सुरक्षित तरिकाले व्यवस्थापन गरिन्छ।

पुनःप्रशोधन तथा कम्पोस्ट

फोहोरलाई कम्पोस्ट मल, कागज, पाइप तथा प्राङ्गारिक खाद्यान्नमा बदल्ने काम।

कम्पोस्ट मल उत्पादन

छुट्टै सङ्कलन गरिएको कुहिने फोहोरबाट थुप्रो (पाइल) विधिद्वारा कम्पोस्ट मल उत्पादन गरिन्छ।

कागज पुनःप्रशोधन

गोकर्ण, काठमाडौंस्थित आफ्नै कागज प्रशोधन केन्द्रमा पुराना कागजबाट पुनःप्रशोधित कागज बनाइन्छ, जुन कार्यालयमै प्रयोग गरिनुका साथै बिक्री पनि गरिन्छ।

प्लास्टिक पुनःप्रशोधन

नेप्सेम्याकको स्वामित्वमा रहेको नेपाल भ्याली इन्जिनियरिङ एन्ड अटो वर्क्स प्रा.लि.द्वारा बालाजु औद्योगिक क्षेत्रमा सञ्चालित प्लान्टमा फोहोर प्लास्टिकबाट पाइप बनाइन्छ।

प्राङ्गारिक खेती

उत्पादित कम्पोस्ट मल प्रयोग गरी भाडाको जग्गामा प्राङ्गारिक तरकारी उत्पादन गरी नेप्सेम्याक परिवारका सदस्यलाई बिक्री गरिन्छ।

समुदाय तथा साझेदारी

सरसफाइको बानी दिगो बनाउने जनचेतना, तालिम तथा समन्वय।

समुदाय परिचालन

समुदायका व्यक्ति, आमा समूह, सामाजिक संस्था, क्लब, विद्यालय आदिलाई परिचालन गरी समुदायमा दिगो र प्रभावकारी फोहोर व्यवस्थापन पहल सञ्चालन गरिँदै आएको छ।

तालिम

विद्यार्थी, महिला, स्थानीय संस्थाका प्रतिनिधि लगायतलाई फोहोर छुट्याउने, फोहोरको सदुपयोग तथा कम्पोस्ट मल उत्पादनसम्बन्धी तालिम दिँदै आएका छौँ।

जनचेतनामूलक कार्यक्रम

स्थानीय बासिन्दाको सहकार्यमा फोहोर व्यवस्थापन तथा वातावरण संरक्षणसम्बन्धी जनचेतनामूलक कार्यक्रम निरन्तर सञ्चालन गर्दै आएका छौँ।

सरसफाइ अभियान

नदी, सडक, मन्दिर जस्ता सार्वजनिक स्थल सफा गर्न विभिन्न नाममा सरसफाइ अभियान सञ्चालन गर्दै आएका छौँ।

अन्तरक्रिया कार्यक्रम

सेवाग्राही, स्थानीय संस्थाका प्रतिनिधि, निर्वाचित जनप्रतिनिधि, सरकारी कर्मचारी, सुरक्षा निकाय, अस्पताल तथा विद्यालय–कलेजसँग दिगो फोहोर व्यवस्थापनसम्बन्धी अन्तरक्रिया कार्यक्रम समय-समयमा सञ्चालन गरिँदै आएको छ।

अन्तरसंस्थागत समन्वय

नेप्सेम्याकसँग मिल्दोजुल्दो क्षेत्रमा काम गर्ने तथा फोहोर व्यवस्थापनसँग सम्बन्धित अन्य संस्थासँग आवश्यक समन्वय स्थापित गरिएको छ।

हाम्रो कार्यविधि

हरेक सङ्कलन चक्रपछाडिको दैनिक प्रक्रिया।

  1. ०१

    दर्ता भएका घरबाट मात्र फोहोर सङ्कलन गरिन्छ।

  2. ०२

    तोकिएको तालिकाअनुसार बिहान ५ वा ६ बजेदेखि सङ्कलन सुरु हुन्छ। मूल सडकमा बिहान ७ बजेसम्म र अन्य स्थानमा दिउँसो २ बजेसम्म सम्पन्न गर्ने लक्ष्य रहन्छ।

  3. ०३

    मूल सडक दैनिक सफा गरिन्छ भने अन्य सडकको सफाइ तथा धुलोसहित फोहोर सङ्कलन हप्तामा एक पटक बिहान ७ बजेभित्र गरिन्छ।

  4. ०४

    सङ्कलित फोहोर सङ्कलन केन्द्र वा ट्रान्सफर स्टेसनमा लगी सकेसम्म पुनःप्रयोगयोग्य वस्तु छुट्याइन्छ।

  5. ०५

    स्रोतमै (सेवाग्राहीको घरमै) फोहोर छुट्याउने कुरामा प्राथमिकता दिइन्छ।

  6. ०६

    कुहिने फोहोर हप्तामा दुई पटक र नकुहिने फोहोर हप्तामा एक पटक सङ्कलन गरिन्छ।

  7. ०७

    विभिन्न टोलमा महिनामा एक पटक जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिन्छ।

  8. ०८

    पुनःप्रयोगयोग्य फोहोर बिक्री वितरण गरिन्छ, पुनःप्रयोग हुन नसक्ने फोहोर मात्र ल्यान्डफिल साइटमा पठाइन्छ।

  9. ०९

    कुहिने फोहोरलाई विद्यमान वा नयाँ निर्माण गरिएका कम्पोस्ट खाडलमा कम्पोस्ट मल बनाइन्छ। फोहोर न्यूनीकरणलाई उच्च प्राथमिकता दिइन्छ।

  10. १०

    कम्पोस्ट मल किसानलाई सुलभ मूल्यमा उपलब्ध गराइन्छ र सडक किनारका बिरुवामा पनि प्रयोग गरिन्छ।

  11. ११

    “एक घर दुई रूख” अवधारणा कार्यान्वयनका लागि बिरुवा उपलब्ध गराइन्छ, साथै खाली जग्गामा बगैंचा बनाउन बासिन्दालाई सघाइन्छ।

  12. १२

    स्थानीय बासिन्दाको सहयोगमा सडक किनारमा वृक्षरोपण तथा काँटछाँटलाई गति दिइन्छ।

  13. १३

    सानो फोहोर फाल्न सडक किनारमा डस्टबिनको व्यवस्था गरिएको छ, जुन भरिएपछि हाम्रा सङ्कलकले उठाउँछन्।

सेवा शुल्क कसरी तय हुन्छ?

शुल्क निर्धारण गर्दा अपनाइने सिद्धान्त।

शुल्कबारे प्रश्न छ? प्रश्नोत्तर पढ्नुहोस्
  • उत्पादित भिजेको, सुकेको तथा हानिकारक फोहोरको परिमाण वा तौलका आधारमा फरक-फरक दर निर्धारण गर्ने।
  • घरधुरी तथा व्यवसायबाट उत्पादित फोहोरको परिमाणका आधारमा मासिक वा त्रैमासिक शुल्क लिने।
  • सडक बढार्ने, ढल सफा गर्ने तथा सार्वजनिक क्षेत्र सफा गर्ने जस्ता थप सेवाका लागि सेवा शुल्क लिने।
  • नगरपालिकाबाट प्राप्त गर्न बाँकी रकम विधिवत् बिल जारी गरी असुल गर्ने।
  • फोहोर व्यवस्थापन प्रणाली प्रभावकारी भई आम्दानी बढ्दै जाँदा नगरपालिकाको खर्च क्रमशः घट्दै जान सक्ने।
  • जवाफदेहिता सुनिश्चित गर्न शुल्कलाई सेवाको गुणस्तर तथा कार्यसम्पादनसँग जोड्ने।

फोहोर उठेन वा केही जिज्ञासा छ?

हामीलाई सन्देश पठाउनुहोस् वा नजिकको कार्यालयमा फोन गर्नुहोस्। हाम्रो टोलीले सकेसम्म छिटो सम्पर्क गर्नेछ।